सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन

जनकपुरधाम | जेठ ९, २०८२

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन

जनकपुरधाम:   गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।


नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो ।


गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । 


“ देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । उल्लेखित समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ”, उहाँले भन्नुभयो ।


गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।


मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।


मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।


गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्